हेलिकोप्टर दुर्घटना

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

फिस्टेल एयरको नाइन एनएआइए नामको एस्कुरेल हेलिकोप्टर आइतबार कास्की र मनाङको सिमाना अन्नपूर्ण बेस क्याम्पमा दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएन ।
सो हेलिकोप्टर बेसक्यापमा रहेका विदेशी पर्यटकको उद्धारका लागि काठमाडौंबाट आइतबार बिहान उडेको थियो । उडान भरेर र्फकने क्रममा अन्नपूर्ण बेसक्याम्प साउथमा बिहान १०ः४५ बजे दुर्घटनामा परेको हो ।
हेलिकोप्टरमा रहेका पाइलट सविन बस्नेत र तीन विदेशी यात्रु सकुशल रहेको पोखरा विमानस्थलले जानकारी दिएको छ । मौसमको खराबीका कारण क्याम्पमा अवतरण गर्न नसकी फर्किएको सो हेलिकोप्टर पुनः कास्कीको छोम्रोङ गाउँमा अवतरण गरी दोस्रोपटक पर्यटक लिन जाँदा दुर्घटनामा परेको हो ।
बिहान दुर्घटना भए पनि दिउँसो दुई बजेमात्रै पोखरा विमानस्थललाई स्थानीयबासीले जानकारी गराएपछि काठमाडौं खबर गरिएको थियो । दुर्घटनाग्रस्त हेलिकोप्टरको पछाडिको भाग क्षतिग्रस्त भएको छ ।
चालकसहित पर्यटकको उद्धार गर्न गएको नेपाली सेनाका दुईवटा हेलिकोप्टर खराब मौसमका कारण अवतरण हुन नसकेपछि साँझ पोखरा फर्केका छन् । सोमबार बिहान पुनः उद्धारका लागि जाने पोखरा विमानस्थलले जानकारी दिएको छ ।
हेलिकोप्टरको पुच्छरमा खराबी आएपछि पाइलटले तत्कालै नजिकको झन्डै पाँच फिट गहिरो सानो पोखरीमा अवतरण गराएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै पोखरा विमानस्थल कार्यालयले जनाएको छ । दुर्घटनामा सबै यात्रु सकुशल रहेकोमा खुसीयालीसमेत मनाइएको छोम्रोङबाट दीपक गुरुङले जानकारी दिए । दुर्घटना भएपछि स्थानीय होटलमा काम गर्ने प्रकाश थापामगर खबर गर्नका लागि छोम्रोङ आएका थिए ।

(नयाँ पत्रिकाबाट)

सिंहदरबार प्रवेश गर्न कम्प्युटर सञ्जालको प्रस्ताव

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

सिंहदरबारभित्र सर्वसाधारण जनताको प्रवेशका लागि कम्प्युटर सञ्जालको व्यवस्था मिलाउन प्रस्ताव गरिएको छ। वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले हाल प्रवेशसम्बन्धी अपनाइएको व्यवस्थामा परिवर्तन गरी सञ्जालमार्फत प्रवेशको व्यवस्था मिलाउन प्रस्ताव गरेको हो। प्रस्तावित सञ्जालअन्तर्गत सिंहदरबार प्रवेश गर्न कम्प्युटरबाट नाम स्वीकृत गरी अनुमति दिने व्यवस्था मिलाइनेछ। केन्द्रका कार्यकारी निर्देशक डा. सुवर्ण शाक्यका अनुसार प्रस्तावित सञ्जालको व्यवस्था कार्यान्वयनमा आएपछि सर्वसाधारण जनताको प्रवेशका लागि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिध्ािले स्वीकृत गरेको प्रवेश पास बोक्न आवश्‍यक पर्नेछैन। उनले सम्बन्धित मन्त्रालय वा निकायले पास उपलब्ध गराइने व्यक्तिका बारेमा कम्प्युटरमार्फत सम्पूर्ण जानकारी प्रवेशद्वारमा भएका सुरक्षाकर्मीलाई गराएर आगन्तुकलाई भित्र पठाउने व्यवस्था मिलाउन प्रस्ताव गरिएको बताए। सोही जानकारीका आधारमा नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र सुरक्षाकर्मीलाई बुझाएर आगन्तुकले भित्र प्रवेश पाउनेछन्। कम्प्युटर सञ्जाल सिंहदरबारभित्रका कार्यालय र प्रवेशद्वारमा मात्रै सीमित रहनेछ। सम्बन्धित कार्यालयबाट आगन्तुकका बारेमा पठाएको विवरण मिलेपछि मात्रै प्रवेश दिइनेछ। ‘भित्र प्रवेश गर्ने व्यक्तिका बारेमा सम्पूर्ण विवरण कम्प्युटरमा राखिएको हुन्छ, जसले केही घटना भएको अवस्थामा पनि छानबिनका लागि सहयोग पुर्‍याउँछ’, डा. शाक्यले भने। कम्प्युटर सञ्जालमा सिंहदरबारभित्र प्रवेश गर्ने व्यक्तिको नाम, ठेगाना, फोन नम्बर, भेट्न जाने व्यक्ति र कामको विवरण राखिनेछ। नयाँ सञ्जाल लागू भएपछि सिंहदरबारभित्रको सुरक्षा-व्यवस्थासमेत बलियो हुने दाबी सम्बन्धित अधिकारीको छ। गृह मन्त्रालयका उपसचिव लेखनाथ पोखरेलले भने, ‘कम्प्युटरमा सबै विवरण राखिने भएका कारण सुरक्षाव्यवस्थाका दृष्टिकोणबाट समेत नयाँ व्यवस्था राम्रो देखिन्छ।’ यससम्बन्धमा केन्द्रले विभिन्न सुरक्षानिकाय तथा सरकारी कार्यालयका प्रतिनिधिसँग छलफल सुुरू गरिसकेको छ। हाल सिंहदरबारमा कामका लागि जान चाहने व्यक्तिले पहिला सम्बन्धित मन्त्रायबाट नाम स्वीकृत गराउनुपर्छ। त्यसपछि मन्त्रालयले सम्बन्धित व्यक्तिलाई कर्मचारीमार्फत प्रवेशद्वारमा पास उपलब्ध गराउँछ। यसरी उपलब्ध गराइएको पास लिएर मात्र भित्र जान पाइन्छ।

पग्लेको नाक जमेको गला

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »
अचम्म पो हुँदो रहेछ कहिलेकाँही । हिजोदेखि हल्का रुघा लागेको आज त मेरो बोलीको भोल्युम नै सानो भयो । मलाई रुघा त प्रायसः लागि नै रहन्छ, कमसे कम पनि तीन महिनामा एकपल्ट । तर यस्तो त कहिले पनि भएको थिएन । मलाई थाहा भएसम्म मेरो गला बसेको थिएन । रुघा लागि सकेपछि कम्तीमा पनि एकहप्तासम्म त छोड्दै छोड्दैन तर पनि यस्तो नराम्रोसँग स्वर भासिने त कहिल्यै पनि भएको थिएन । निहुँ पनि खास केही होइन, एक ग्लास जति चिसो पानी पिएको थिएँ फ्रिजमा राखेको । त्यसको भोलिपल्ट नै रुघाले समाइहाल्यो । रुघा लागे पनि स्वर त ठिकै थियो तर आज दिउँसो तीन बजेतिरदेखि त बोलि नै भासिइ हाल्यो । त्यो पनि क्या अचम्म तरिकाले भने विग्रेको रेडियो जस्तो वोल्दावोल्दै एकछिनमा सानो हुन्छ, एकछिनमा ठूलो । सधैँको भन्दा वेग्लै तरिकाको रुघा लाग्यो यसपाली । पहिले पहिले रुघा लाग्दा नाक मात्र पग्लिने हुन्थ्यो  तर यसपाली त वोली नै पो जमिदियो, नाक पग्लिने क्रम त छँदैछ ।  

मलाई हिजो नै एकजना दाइले एक्टीफिट भन्ने एउटा ट्यावलेट खानु एकै छिनमा ठिक हुन्छ भन्दै थिए । तर मैले धेर जान्ने भएर उल्टै एउटा उखान सुनाइ दिएको थिएँ - “तपाईलाई थाहै रहेनछ, रुखा लाग्दा औषधि खायो भने निको हुन सात दिन लाग्छ, खाएन भने एकै हप्तामा निको हुन्छ” भनेर । तर के गर्नु मेरो गफले मलाई नै घात गर्‍यो यसपाली । 

शुरु शुरुमा त रमाइलो लाग्दै थियो । अहिले त दिक्क लाग्न थाल्यो । अव चाहिँ औषधि नखाइ नहोला जस्तो छ । मान्छेले जिस्काउन थालिसके के के भनेर । 

"आँखा"

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

  ”आँखा“

मेरी आमासँग एउटा मात्र आँखा थियो । एकआँखे ती मेरी आमा कुरुपताकी प्रतिमूर्ति थिइन् त्यसैले म घृणा गर्थेँ म उनलाई । उनको र मेरो सम्बन्धको बारेमा कसैसँग परिचय खुलोस् भन्ने म चाहँदैनथेँ । उनी एउटा विद्यालयमा विद्यार्थी र शिक्षकहरूलाई खाना पकाउने र लुगाफाटो धोइदिने काम गर्थिन् । त्यही आम्दानीबाट हाम्रो परिवारको गुजारा चल्ने गरेको थियो । 

अचानक एकदिनको कुरा हो, मेरी आमा मेरो पढाइको बारेमा बुझ्न मेरो स्कुलमा आइन् । मैले मेरा साथीहरूलाई उनी मेरी आमा हुन् भनेर चिनाउन सकिन, किनकि मेरी आमा अत्यन्तै कुरुप थिइन् । उनी त्यसरी मेरो स्कुलमा आउँदा मलाई अत्यन्तै नराम्रो लाग्यो । मैले उनलाई कर्के आँखाले हेरेँ र बाहिरतिर दौडिएँ ।  

 अर्को दिन मेरो एकजना साथीले मसँग मेरी आमाको बारेका कुरा उठायो । उसले मलाई भन्यो- “छ्या तिम्री आमाको त एउटा मात्रै आँखा ! कस्ती काली त्रि्री आमा त ! त्यस्ती कुरुप बुढीलाई आमा भन्न तिमीलाई लाज लाग्दैन ?” उसको कुरा सुनेर म मरेजस्तै भएँ । आखिर त्यस दिन मेरी आमा किन स्कुलमा आएकी होलिन् ! उनीप्रतिको रिस र आक्रोशले म आफैँलाई चिथोरुँ जस्तो लाग्यो । साथीहरूको अगाडि बेइज्जत भएको भन्ठानी मलाई भुतुक्क मरुँ जस्तो पनि लाग्यो । 

एकदिन मैले आमालाई बेस्सरी झपार्दै भनेँ- “तिमी किन गयौ मेरो स्कूलमा, आफ्नो कुरुपता प्रदर्शन गरेर किन मेरो बेइज्जत गर्‍यौ ?” मैले आबेगमा नै भनिदिएँ- “तिमी मर्न नसकेकी बुढी ।” मेरी आमाले कुनै प्रतिउत्तर दिइनन् । मैले आमालाई गरेको गाली सम्झेर मलाई कत्ति पनी पछुतो लागेन किनकि म उनीसँग असाध्य रिसाएको थिएँ । उनको कुरुपताले ममा घृणाभाव बढाइरहेको थियो । मलाई त्यो घरबाट धेरै टाढा भाग्न मन लाग्यो ताकि अब उनीसँग कहिल्यै भेट नहोस्, उनको कुरुप अनुहार देख्नै नपरोस् । दिनहरू बित्दै गए । त्यसपछि मैले धेरै मेहनेतका साथ पढेँ । मैले स्वदेशमा मात्र होइन विदेश गएर पढ्नसमेत छात्रवृत्ति पाएँ । मैले धेरै पढेँ र पछि बिहे पनि गरेँ । शहरमा एउटा सुन्दर घर पनि बनाएँ । यतिखेर मेरा आफ्नै छोराछोरी पनि भइसकेका थिए । म आफ्नै संसारमा मस्त थिएँ । 

मेरो मस्तीको सँसारमा एकदिन अचानक मेरी आमा आइपुगिन् । मेरो घरको ढोकामा मेरी आमा उभिएकी थिइन् । उनीसँग भेट नभएको निकै भइसकेको थियो । बुढ्यौलीका कारण उनको कुरुपता अझै बढेको थियो । उनले आफ्ना नातिनातिनालाई त देखेकीसम्म थिइनन् । मेरो ढोकामा उभिएको उनको त्यो कुरुप अनुहार देखेर मेरा बच्चाहरूले उनलाई बेसरी जिस्क्याए, गिज्याए । उनले मेरा सन्तानलाई गाली गरिन् र थप्पड पनि लगाइन् । मेरो घर आँगनमा मेरै सन्तानले गाली र थप्पड खाएको देख्दा मलाई असैहृय भयो । मैले उनलाई बेसरी कराएँ । “तिमी किन आएकी यहाँ ? कसले बोलायो तिमीलाई ? तिम्रो यो अनुहार लिएर कहिल्यै आउनुपर्दैन यहाँ । जाउ, गइहाल तुरुन्त गइहाल ।” मेरो गाली सुनेर उनले विस्तारै जवाफ दिइन्- “माफ गर, सायद मैले गलत ठेगाना समातेछु । म तिम्रोमा आएर अब कहिल्यै पनि तिमीलाई दुख दिनेछैन ।” यति भनेर उनी त्यहाँबाट तुरुन्तै हराइन् ।  

अरू केही वर्ष बितेर गए । एकदिनको कुरा हो गाउँको मेरो पुरानो विद्यालयमा पुनर्मिलन समारोहको आयोजना गरिएको र त्यसमा अनिवार्य सहभागी हुन लेखिएको निम्तोपत्र मेरो हातमा पर्‍यो । कुनै विजनेस ट्रिपमा जाँदैछु भनेर मैले मेरी श्रीमतीलाई ढाँटेँ र म मेरो पुरानो विद्यालयको त्यो समारोहमा भाग लिन गएँ । समारोहको अन्त्यसँगै त्यहीँ नजिकै रहेको मेरो पुरानो गाउँमा घुम्न मलाई उत्सुकता जागेर आयो । म मेरो पुरानो गाउँतिर गएँ । मैले गाउँलेहरूबाट मेरी कुरुप आमा मरिसकेको थाहा पाएँ । आमाको मृत्यूमा मलाई कुनै विस्मात लागेन । एक सामान्य घटना घटेजस्तै मैले त्यसलाई सहज ढंगले पचाएँ । उनका लागि मसँग एक थोपा आँशु पनि थिएन । तर मृत्यूअघि मेरी आमाले मलाई लेखेको एउटा चिठी गाउँलेहरूले मेरा हातमा थमाइदिए । चिठी खोलेँ र पढ्न थालेँ । चिठीमा यस्तो लेखिएको थियो-

मेरो प्रिय छोरा, 

मलाई माफ गर म तिम्रो घर आएर तिम्रै छोराछोरीलाई गाली गरेँ । मैले तिमीलाई पटक पटक दुःख पनि दिएँ । तिमी आफूले पढेको गाउँको विद्यालयमा आउँदैछौ भन्ने थाहा पाएर म निकै खुसी भएकी थिएँ तर तिमीलाई हेर्न म उठ्न सकिन छोरा । म निकै बिरामी थिएँ । तिमीलाई हर्ेर्ने मेरो अन्तिम धोको पनि पूरा गर्न सकिन । तिमी ठूलो हुँदासम्म मैले तिम्रो चित्त बुझाउन कहिल्यै पनि सकिन । छोरा, तिम्रो आँखामा म सदा घृणाको पात्र भइरहेँ । मैले तिमीलाई निकै दुःख दिएकी छु । 

छोरा, तिमीलाई थाहा छैन जब तिमी सानो थियौ- अचानक एउटा दुर्घटनामा परेका थियौ । त्यही दुर्घटनामा तिमीले एउटा आँखा गुमायौ । एउटी आमा भएकीले मैले तिमीलाई एउटा मात्र आँखा भएको हेर्न सकिन । हुन पनि कसरी सक्नु, आफ्नै सन्तान एउटा मात्रै आँखा लिएर हुर्किरहेको छ । तिम्रा साथीहरूले तिमीलाई एकआँखे भनेर हेपेको र जिस्काएको मैले सहनै सकिन । अनि एकदिन मैले तिमीलाई अस्पत्ताल लिएर गएँ । अस्पतालमा आँखा किनेर प्रत्यारोपण गर्न धेरै रकम चाहिने रहेछ तर मसँग त्यति धेरै पैसा कहाँ थियो र ! ? अन्ततः डाक्टरलाई मैले मेरो आफ्नै एउटा आँखा झिक्न लगाएँ र त्रि्रो बिग्रिएको आँखामा प्रत्यारोपण गरिदिएँ । 

अब तिमीसँग दुइवटै आँखा भए । आहा, तिमी कति सुन्दर देखियौ । मेरा निम्ति जीवनको यो अत्यन्तै दुर्लभ खुशी थियो । प्यारो छोरा, आज मलाई निकै गर्व लागिरहेको छ । मेरो सन्तान जसले आज मेरै आँखाबाट संसार हेरिरहेको छ । आखिर के नै फरक भयो र मैले हेर्ने संसार आज मेरै आँखाबाट मेरो आफ्नै छोराले हेरिरहेको छ । त्यो त्यही आँखा हो, जुन आँखाले मैले पहिले संसार हेर्ने गर्दथेँ आज मेरो छोराले हेरिरहेको छ । म निकै खुसी छु छोरा । 

म अब यो संसारमा रहनु र नरहनुमा केही फरक छैन किन कि मेरो ठाउँमा आज मेरो छोरा छ अनि मेरै आँखाले यो अनुपम संसार हेरिरहेको छ । तिमी जहाँ रहन्छौ सुखी रहनु, सम्पन्न रहनु? यो मेरो आशिर्वाद तिमीलाई । छोरा तिमीले अब कुनै पनि बेला सोच्नुपर्दैन कि तिम्री यो कुरुप आमा आएर तिमीलाई फेरिफेरि दुःख दिनेछ । तिमीलाई नहेरी बस्न नसकेकीले मात्र कहिलेकाँही तिमीलाई भेट्न आउँथे, अब त त्यो दिन पनि सकियो छोरा, अब तिमी सधैसधै सुखी रहनु ।

 मेरो सारा आशीवाद र माया तिमीलाई । 

उही तिम्री, 

कुरुप आमा

(पालप्लसबाट)

बीर बालक कमललाई राजधानीमा भ्याईनभ्याई

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

सेती नदीको खोचमा खसेकी बालिकालाई उद्वार गरेर चर्चामा आएका कमल नेपालीलाई राजधानीमा सम्मान ग्रहण गर्न भ्याईनभ्याई छ ।

साहसको कदर गरेर राजधानीवासीले बोलाएपछि बिहीबार उनी बुबा र दाइको साथमा पोखराबाट हवाईजहाजमा राजधानी आएका थिए । राजधानी आइपुगेपछि १२ वर्षिय कमललाई सम्मान गर्नेको संख्या बढ्दै गएको छ ।
अपाराह्न तीन बजे विमानस्थल आइपुगेका उनीहरू राजधानीको पांचतारे होटेल याक एन्ड यतिमा बसेका छन् ।

कमलले शुक्रबार बिहान ११ बजे दशरथ रंगशालामा बास्केटबल प्रतियोगिता उदघाटन पनि गरेका थिए । यसपछि सगरमाथा टेलिभिजनले आयोजना गरेको र्‍यालीमा उनी प्रमुख आकर्षणबने । टाटा मोबाइलमा राखेर उनलाई अनामनगर, माइतीघर, न्युरोड हुंदै प्रदर्शनीमार्गस्थित पर्यटनबोर्ड पुर्‍याइएको थियो ।

सम्मान कार्यक्रममा पुगेपछि उनीसंग हात मिलाउनेको घुइंचो लागेको थियो । उनलाई मितेरी अस्पतालले आजीवन उपचार गरिदिने घोषणा गरेको छ । रमपम तयारी चाउचाउले यस वर्षेदेखि ‘रमपम ब्रेभरी अवार्ड’ स्थापना गरेर पहिलो वर्षको अवार्ड कमललाई दिने घोषणा गरेको छ ।

कमल र उनका आफ़न्त आज पोखरा फर्किने योजनामा छन । फ़र्कनु अघि उनी विभिन्न स्थानका सम्मान कार्यक्रममा सहभागी हुने भएका छ्न् । उनलाई यस वर्षको ‘वीर गणेशमान सिंह बाल प्रतिभा पुरस्कार’ पनि प्रदान गरिने भएको छ । जीवन जोखिममा राखेर बालिकाको उद्वार गरेकोले उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको पुरस्कार कोषकी अध्यक्ष रीतासिंह वैद्यले विज्ञप्तिमार्फत जनाएकी छिन् । कोषले कमललाई ‘वर्षको बालक’ उपाधिसमेत दिएको छ । २५ हजार रुपैयांसहितको उक्त पुरस्कार आगामी चैत २६ गते प्रदान गरिने भएको छ ।

प्रथम राष्ट्रिय कुर्सी दौड प्रतियोगिता

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

खेलाडीहरु कोही नयाँ छन् कोही पुराना । समिश्रण छ खेलमा । राष्ट्रिय कुर्सी दौड प्रतियोगितामा । प्रतिस्पर्धीहरुका लागि नितान्त नौलो भए पनि पूर्व प्रतियोगिताहरुमा पटक पटक भाग लिएका अनुभवी खेलडीहरु नै छन् अहिले अग्र पङ्तिमा । अनौठो छ प्रतियागिता र अनौठो लाग्दा छन् प्रतियोगीहरु यो प्रस्पिर्धामा !

कोही कहिल्यै कुनै खेलमा नहारेका छन् भने कोही बारम्वार हारेका अर्थात प्रतियोगिता पूर्व फस्ट राउण्डमा दुबै इभन्ट्स्को छनौट चरणमा नै पराजित भएका । पराजित भए पनि आफूलाई प्रतियोगिमा प्रतिस्पर्धि बनाएका । क्या अचम्मको खेल ! कस्तो रमिता !
कोही भने न कहिल्यै जितेका न कहिल्यै हारेका । प्रतियोताबाट सधैं भागेर टाढै बसेका । अर्काको लौरो समाएर हिँडेका !

नयाँपुराना, जितेकाहारेका, राम्रोसँग चिनिएका, नचिनिएका सबै प्रतियोगिताको दौडमा लौरो टेक्दै प्रतिस्पर्धा गरिरहेका छन् रातदिन ! प्रतियोगिहरुलाई न रातको न्रि्रा छ न दिनको भोक ! भोक छ भने एउटै छ राष्ट्रिय कर्ुर्सर्ीीे । वाह ! कस्तो भोक - 
प्रतियोगिताको अर्को रमाइलो पक्ष झन् रमाइलो छ । रमाइलो मात्र हैन अपत्यारिलो पनि छ - यो प्रतिस्पर्धाका प्रतियोगीहरु कोही पहिल्यै पराजित, कोही सधैं अपराजित, कोही जंगलमा प्रशिक्षित छन् त कोही छिमेकीद्वारा दीक्षित । वाह ! कस्ता कस्ता खेलाडी । तल्ला माथिल्ला उपल्ला सबै स्तरका ।

नियम छैन, नियमको ठाउँमा तिकड्म र ताक छ, धम्की र धाक छ । वाह ! कस्तो खेल । कहीँ नभएको जत्रा हाँडीगाउँमा, कहीँ नभएको खतरा खेल नेपालमा !
दर्ूइ महिनादेखि प्रतिस्पर्धा नियमित चलेको छ । निरन्तर उछिनाउछिन छ । कहिले को अगाडि कहिले को पछाडि ! अहिलेसम्म थाह छैन पर्ुर्पुरो कसको बलियो छ । कसकसले पाउने हो कुन उपाधि, पदवी र कसलाई प्राप्त हुने हो समाधी ! 
प्रतियोगितामा दक्षिणको दवाब, उत्तरको प्रभाव र पश्चिमको चाहनाले प्रतक्ष परोक्ष असर पारेकोले परिणाममा ढिलाई भएको छ । यी मध्ये दक्षिणको सर्वकालीन र दीर्घकालीन प्रभाव वास्तवमै प्रभावकारी हुने भएता पनि अहिले यसै हो भन्न सक्ने अवस्था भने छैन । 

दौड निरन्तर चलिरहेको छ । मिश्रति खेलाडीहरुको खेलमा प्रशिक्षकहरुको समिश्रणलाई पनि आश्चार्य मान्नु पर्दैन । विदेशी गुरुलाई बढी नै मान्ने चलन त चलिआएकै हो । यही चलन अनुरुप यो प्रतियोगिता पनि चलेको छ । बाहिरबाहिर सद्भाव भित्रभित्र कुनै नयाँ कुराको प्रादर्ूभाव गर्ने हिसाबले विदेशी प्रशिक्षकहरुको सक्रिय प्रभाव चलायमान जस्तो देखिन्छ । खेलाडी स्वदेशी भए पनि गुरु सबै विदेशी छन् । तिनै गुरुलाई प्रशिक्षक भनिन्छ । तिनले जे भन्यो त्यही मानिन्छ । र, अन्त्यमा त्यही हुन्छ !

रेप|mी, निर्णायक मण्डली सबैमा उत्तर, दक्षिण र पश्चिमाका मुनिम, महामहिमहरु नै हुनुहुन्छ । रेप|mीले हात हल्लाए अनुरुप खेलाडीहरु कहिले कुन दुतवास त कहिले कुन होटल र कहिले कुन निवास तिर दौडन्छन् । आफलताफल हुन्छ को अघि पुग्ने भनेर ! लिगलिगकोटे दौड जस्तो ।
प्रशिक्षक (गुरु) को आदेश अनुसार कहिले कुन टिमसँग मिल्ने कहिले कुन टिमसँग छुट्ने चलिरहन्छ । नयाँ ध्रुविकरण र समीकरण बनिरहन्छ । गोरु र गधाको हल जस्तो ! 

रमाइलो छ, समर्थकहरु लोड सेडिङमा टायर बालेर अँध्यारो शहरलाई उज्योलो बनाइरहेका छन् । आफ्नो टिमका खेलाडीको जीताउन सडक तताइरहेका छन् । खेलाडीहरु खेल जित्न लुकीलुकी विभिन्न निवास र दुतावास धाइरहेका छन् । प्रतिस्पर्धाका समाचारहरु प्रतक्ष प्रसारण जस्तै आइरहेका छन् । दर्शकहरु अक्न न बक्क हेरेर सुनेर बसिरहेका छन् सबै जोगीको कान चिरिएको देखेर । 
विश्वको ध्यान आकर्शित गर्न सफल यो प्रथम राष्ट्रिय कुर्सी दौड प्रतियोगिताको पुरस्कारको घोषण यसरी गरिएको छ - 
प्रतियोगितमा प्रथम हुनेले गणतन्त्र नेपालको राष्ट्रपति पड्काउने छ ।
द्वितीय हुनेले गणतन्त्र नेपालको प्रधानमन्त्री भएर थर्काउने छ ।
तृतीय हुनेले गणतन्त्र नेपालको संविधान सभाको सभाध्यक्ष भएर सदन चर्काउने छ । 
सान्त्वना पुरस्कार प्राप्त गर्नेले उपराष्ट्रपति र उपप्रधानमान्त्रीको कुर्सी पाउने छ ।
आदि …. इत्यादि …. ।
विजेताहरुलाई शुभकामना 

 

(नेपाली पोष्टबाट)

  

राम्रो के ?

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

मान्छे भन्दा पनि पछाडिको दृष्य चाहिँ राम्रो रहेछ, हैनत ? ??? 

सहमतिपछि देशभरको यातायात सुचारु

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »
 पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि अनुसार सवारी भाडा बढाउन माग गर्दै आन्दोलनमा उत्रेका यातायात ब्यबसायी र सरकारबीच सहमति भएको छ । 

हिजो अबेर राति सम्पन्न सरकार र यातायात ब्यबसायीबीचको वार्तामा लामो र मध्यम दुरीका सवारीमा २८ प्रतिशतले भाडाबृद्धि गर्ने सहमति भएपछि यातायात ब्यबसायीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

राति करिब ३ बजे सम्पन्न वार्तामा उपत्यका भित्रका मिनी बस र माइक्रो बसको न्युनतम भाडा १२ रुपैयाँ र ट्याक्सीमा सुरुमा देखिने भाडा दर १० रुपैयाँ राख्ने सहमति भएको छ । 

यसअघि सरकारले सवारी भाडामा २५ प्रतिशले मात्र थप गरी लिन पाउने निर्णय गरेको थियो । सरकारले बढाएको उक्त भाडा कम भएको भन्दै ब्यबसायीहरुले अनिश्चितकालिन यातायात बन्दको घोषणा गर्दै आन्दोलनमा उत्रेका थिए । 

यो भाडा दर दुइ महिनाका लागि मात्र कायम गरिएको छ । दुइ महिनापछि बैज्ञानिक आधारमा नयाँ भाडादर कायम गरिने वार्तामा सहभागी यातायात ब्यबसायीले बताएका छन् ।

बिद्यार्थीलाइ दिइएको छुटमा दुरुपयोग रोक्न ब्यबसायी, सरकार र बिद्यार्थी सम्मिलित संयन्त्र बनाएर तत्कालै काम थाल्ने पनि सहमति भएको छ । 

ब्यबसायीको आन्दोलन फिर्तापछि आज बिहानैदेखि राजधानीका सडकमा चहलपहल सुरु भएको छ भने देशभरको यातायात सुचारु भएको छ । 

सुस्ता फेरी आज मिचियो

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »
भारतीयहरुको पटक पटकको अतिक्रमणबाट सिद्धिन लागेको नवलपरासी सुस्ताको करिब ५० बिघा जमिन फेरि अतिक्रमित भएको छ ।

भारतको बिहार राज्य रमपुरवाका मुखिया बिसुन देव र जलिस अन्सारीको नेतृत्वमा सयौंको संख्यामा आएका भारतीयहरुले सुस्ता गाविसको धनईया क्षेत्रको करिब ५० बिघा खेतीयोग्य जमिन आज फेरी अतिक्रमणमा परेको हो । 

उनीहरुले उक्त जमिनमा टेक्टर लगाएर खनजोत समेत गरेका छन् । २०६२ सालमा सीमा विवाद हुदा दुबै देशबीच अर्काको भूमि अतिक्रमण नगर्ने सहमति भएपछि उक्त क्षेत्र हालसम्म सुरक्षित हुदै आएको थियो । नेपालमा राजनीतिक तरलताको फाइदा उठाउदै भारतीयहरुले दुइ साताअघि मात्र सुस्ताको ४० बिघा खेतीयोग्य जमिन अतिक्रमण गरेका थिए भने त्यसअघि पटकपटक गरी करिब १४ हजार हेक्टर जमिन अतिक्रमण गरी कब्जा गरेका छन् । 

नेपाली भूमि यसरी अतिक्रमण र कब्जा भैरहदा समेत नेपाल सरकारले ठोस पहल गरेर नेपाली भूमि फिर्ता गराउन नसकेकोमा सुस्ताबासीहरु सरकारप्रति आक्रोशित छन् भने नेपाल सरकारको लाचारीपनको फाइदा भारतीयहरुले उठाउदै आएका छन् । 

यसैबीच गण्डक नहरको पानी बन्द गरेर नेपाली किसानहरुले एक महिनादेखि जारी राखेको आन्दोलनका कारण रोपाई गर्न नपाएर रुष्ट बनेका भारतीयहरुले नेपालीमाथि भारतसंग जोडिएका ठुटीबारी,भैसालोटन,लगायतका नाकामा ज्यादती गरिरहेका छन् । भारतीयहरुले नेपालीलाई आवतजावत गर्न,किनमेल र बजार गर्नबाट बञ्चित गराउनुका साथै कुटपिट समेत गर्न थालेको स्थानीय नेपालीहरुले गुनासो गरेका छन् ।

बेल्जियममा नेपाल फेस्टिबल २००८

Uncategorizedकुनै प्रतिकृयाहरु छैनन् »

नेपाली दूतावास बेल्जियम र बेल्जियमस्थित बिभिन्न सँघसंस्थाको आयोजनामा बेल्जियममा नेपाल फेस्टिवलको आयोजना गरिएको छ । रबिन्द्रमान श्रेष्ठको संयोजकत्वमा आयोजित फेस्टिबल जुन २१ मा सुरु गरिएको थियो । 

प्रेसिडेन्ट अफ डिस्ट्रिक्ट काउन्सलर ‘बर्गरहाउत’ बाट पानसमा बत्ति बाली उदघाटन गरिएको कार्यक्रममा महामहिम राजदूत प्रबेश हमालले शुभकामनाका साथै “नेपालमा पर्यटन बिकासका लागि नेपाल फेस्टिबल” को बारेमा प्रकाश पार्नु भएको थियो। सो अवसरमा आकर्षक नेपाली भेषभुषाको प्रदर्शनी गर्दै बेल्जियम र नेपालको राष्ट्रीयगान पनि गाइएको थियो। नेपालमा पर्यटनको बिकासका लागि बनाइएको वृत्तचित्र माथि दूतावासका प्रथम सचिव दूर्गा भण्डारीले प्रकाश पार्नुभएको थियो।

नायिका बर्षा खड्काद्वारा दोस्रो चरणमा नृत्य प्रदर्शन गरिएको थियो भने निर्माता अमृत लामाको चलचित्र झाँक्रीको पनि प्रदर्शन गरिएको थियो। साँस्कृतिक कार्यक्रमका रूपमा स्थानीय कलाकारहरुको नृत्य तथा गायनले दर्शकलाई नचाउन सफल भएको थियो । त्यसै गरी नेपाली बाद्यबादनका सामानहरुको परिचयका साथै नेपाली मौलिक धूनहरु प्रस्तुत गर्नुले कार्यक्रमले अझै रौनकता पाएको थियो ।

उल्लेखनीय रूपमा बेल्जिक तथा नेपालीहरुको उत्साहजनक उपस्थिती रहेको सो नेपाल फेस्टिवलमा बिभिन्न नेपाली सँघसंस्था ,नेपाली दूतावास ,ट्राभल एजेन्ट लगायत बेल्जिक सँघसंस्थाहरुले पनि नेपालीपन झल्कने स्टल लगाएका थिए। नेपाली परिकारका बिभिन्न खानेकुराहरु तथा पेय पदार्थ,नेपाली कपडा अनि गरगहना सो कार्यक्रमको आकर्षण थियो। यो कार्यक्रम शनिबार २१ जुन र २२ जुन आइतबार दूइ दिन चल्ने कुरा आयोजकहरुले बताएकाछन् ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in