“आमाले भन्ने गर्नुहुन्थ्यो तील वा तोरीको दाना जत्रो अवसर आएपनि त्यसलाई सहि ढंगले सदुपयोग गर्नु पर्छ । जीवन संघर्षमय छ । सकारात्मक सोच र कर्तब्यबाट यस्लाई सार्थक बनाउन सकिन्छ । जीवनमा हरेश र चरेस कहिल्यै नखानु ।” यहि भनाईलाई आत्मसात गर्दै अघि बढिरहेकी निर्मला अहिले दृष्टि भएकाहरुका लागि पनि उदाहरण र प्रेरणाको स्रोत भएकी छन् । यद्यपि उनले जन्मदेखि नै बाहिरी चक्षुले उज्यालो र भौतिक संसारका संरचनाहरु देखेकी छैनन् ।
निर्मला ज्ञवाली गुल्मीको दरबारदेवीस्थान १ मा वि.सं २०४० सालमा जन्मिएकी थिइन् । दिदी सीता र दाई बलराम जस्तै उनले पनि जन्मजात दृष्टिविहिनको रुपमा संसारमा पाईला टेक्नु पर्यो । तर सयमले यति धेरै कोल्टे फेर्यो कि जीवन भोगाइका क्रममा निर्मलाले समयलाई पनि पछि पार्न सफल भईन् । उनी दृष्टि भएकाहरुबाट कुनै हिसावले पनि कमजोर छैनन् । समय र परिवेशलाई जित्ने धेरै थोरै नेपाली महिलाको सूचिमा उनले पनि आफ्नो नाम सुरक्षित गरेकी छिन् । दृष्टि हुनेहरुका लागि उनी गतिलो उदाहारण हुन् । झापा र मोरङ स्थित शिविरबाट भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास गराईरहेको आप्रवास सम्बन्धि अन्तराष्ट्रिय संगठन (आईओएम) मा कार्यरत निर्मलाको संर्घष बुझ्नेहरु उनीबाट प्रेरित हुने गर्छन ।