अखबारवालालाई निवेदन

विश्लेषण तपाईंको प्रतिकृया थप्नुहोस्

मेरो एक पढैया साथी वसन्तले एक वर्ष पूरानो दैनीक अखबार मलाई देखाउन ल्याए । उनले बडो जतनले इलामबाट जोगाउँदै उक्त अखबार काठमाडौँ ल्याइपुर्याए । अखबार साँच्चै पढ्न लायक सामाग्रीहरु छन् । गजबको छ त्यो । त्यसैले त्यो संग्रहित भयो । यहि अखबार कति पढैयाहरुले त्यसरी संग्रह गरेका होलान् ? यसको उत्तरमा जत्रो अंक आए पनि यसले अखबारको महत्व बोल्छ । त्यसको मूल्य स्थापित गर्छ । यो सामान्य कुरा हो । तर, यसैसँग जोडिएर आउँछ एउटा गहिरो प्रश्न । कति अखबार होलान् दुनियामा जसको मूल्य नै छैन ? जो कसैले नपढ्दा दुनियाँलाई केही घाटा हुँदैन - र, पढ्दा पनि फाइदा भन्दा घाटा नै ज्यादा हुन्छ ।

वसन्त र मैले त्यही संग्रहित अखबारका अहिले निक्लिरहेका अंकहरुका बारे छलफल गर्यौँ । तिनको अहिले कुनै ओज छैन । त्यसै पत्रिकाका हालका अंकहरु स्तरहीन छन् । आजकल ऊ ब्रीट्नी स्पियर्सको चुम्बन प्रथम पृष्ठमा छाप्छ । कोही बलात्कृत भएको थाहा पायो भने ऊ त्यसको ‘स्कूप’ मार्न लालायीत हुन्छ । ऊ बलात्कारको डरलाग्दो विभिषिकालाई ‘सेन्सीटाइज’ गरेर उत्ताउलो बनाउने ध्याउन्नमा लागेको छ । आफुले छोटो समयमा कमाएको लोकप्रियतालाई त्यस पत्रिकाले अहिलेसम्म ‘क्यास’ गरिरहेको छ । ऊ आफुलाई ‘डेमोक्रेसी’को मसिहा भन्छ, राज्यको चौथो अंग भनेर उत्तेजना बेचेर पैसा बटुलिरहेको छ । जसरी एउटा भारतिय नाफामुखी कम्पनीले मेन्थलमा गुलियो मिसाएर ‘मेन्टस’ बनाउँछ र बारम्बार भन्छ- यो खानुस र दिमागमा बत्ती जलाउनुस् । अर्थात, अब त्यो अखबार पाठकका हातमा पुगिरहनु भनेको पाठकलाई सबैतिरबाट घाटा मात्र हुनु हो । तर, त्यो अखबार ती पाठकका हातमा पुगेन भने पाठकले केही गुमाउने छैनन् । यो कुरालाई सोझो भाषामा यसरी भनौँ- ‘त्यो अखबारको कुनै महत्व छैन र छापिइरहन जरुरी पनि छैन ।’ त्यो अखबारसंग सम्बद्धहरुलाई यति मात्र भन्न सकिन्छ- ‘तपाईहरुले गरि खाने अरु नै बाटो रोज्नु राम्रो ।’


यति भनिसकेपछि अब एकछिन सोचौँ न कमसल पत्रिकाहरुको प्रकाशनले हामीलाई के घाटा हुन्छ ? त्यसका लागि म तपाईँलाई भर्खरै विदेशबाट आएको एउटा इ-मेलको प्रसङ्ग सुनाउँछु । विदेशबाट अर्को एक पढन्ते साथीले मलाई महत्वपूर्ण विषयमा लामो इ-मेल पठाएको रहेछ । र, इ-मेलको अन्तमा लेखिएको एउटा लाइनले मेरो ध्यान खिँच्यो । त्यहाँ लेखिएको छ - ‘के तपाईँले यो मेल छाप्न लाग्नु भएको हो ? यदि हो भने क्रिपया छाप्नु अघि दश पटक सोच्नुहोला ।’ मैले त्यति पढेपछि त्यसलाई छापेर फाइलमा कोच्नुभन्दा कम्प्युटरमा राख्नु उचित ठानेँ । त्यसलाई छाप्दा लगभग पाँच वटा ए फोर साइजका कागज र अलिकति मसी खर्च हुन्थ्यो । ती कागजहरु त्यतिकै आउँदैनन्, मसी पनि आकाशबाट यसै बर्षिँदैन । तीनलाई त बनाउनु पर्छ । कागज बनाउने ठूल्ठूला उद्योगहरु खुलेका छन् । ती उद्योगलाई कागज बनाउने कच्चा पदार्थहरु चाहिन्छन् । र, हामीलाई थाहा भएकै कुरा हो- कागज वनस्पतिबाट बनेको चीज हो । कागजको कच्चा पदार्थ भनेकै हरिया वृक्षहरु हुन् । ती वृक्षहरु नष्ट नगरि कागज बन्दैन । त्यसैले कागजको दुरुपयोग भनेको हाम्रो प्राकृतिक स्रोतको दुरुपयोग हो । ब्रीट्नी स्पीयर्सका ओँठ र तीघ्रा छाप्न दुनियालाई रुखविहिन बनाउनु कस्तो ‘डेमोक्रेसी’ हो ?

भारतीय लेखिका अरुन्धती रोयले उनको भर्खरै प्रकाशित पुस्तक ‘लिसनीङ्ग टु ग्रासहोर्प्पर्सः फिल्ड नोट्स अन डेमोक्रेसी’मा त्यसै यस्तो खतरनाक प्रश्न सोधेकी होइनन्- ‘के डेमोक्रेसीपछि जीवन छ ?’ यो प्रश्न ‘के मृत्युपछि जीवन छ ?’ भन्ने दार्शनीक प्रश्नकै नमुनामा सोधिएको हो । ‘मृत्यु’को ठाउँमा ‘प्रजातन्त्र’ (डेमोक्रेसी) शब्द राखिएको छ । अर्थात्, अहिलेको दुनीयाँले अभ्यास गरिरहेको ‘प्रजातन्त्र’ नै कतै दुनियाँको अन्त्य निम्त्याउने ‘मृत्यु’ त होइन भन्ने सन्देह यहाँ प्रकट गरिएको छ । यसै प्रसङ्गमा उनी लेख्छिन् - ‘जङ्गल, नदीदाला र हिमाल सबै सकिनै लागेका छन्, यहाँका बडे बडे ‘कर्पोरट्स’ले राजनीतिको आडमा यी सबै स्रोतहरुको भरपूर उपयोग गरे ।……… र यो अहिलेको डेमोक्रेसीले सम्भव गराएको हो । एउटा राजनीतिक नेतालाई भोट ब्यांक चाहिन्छ, जस्तो कर्पोरेसनलाई बजार । दुवैलाई मिडियाको सहयोग आवश्यक पर्छ । कर्पोरेसनले त्यो सहयोग किन्छ र राजनीतिले त्यो कमाउँछ ।’ यसरी रोयले राजनीति, सन्चार र कर्पोरेशनको सम्बन्ध र त्यसले हाम्रा प्राकृतिक स्रोतमा पारेको असरबारे लेखेकी छन् ।

अहिले रुखपात, नदिनाला, पहाड र हिमालहरु जोगाउने बेला आएको छ । यसमा सन्चार माध्यमले ठूलो भूमिका खेल्न सक्छन् । वातावरणिय समस्याबाट दुनियाँलाई जोगाउन जनचेतना सबभन्दा बलियो माध्यम हुन्छ । र, यो ठूलो जिम्मेवारी प्रभावकारी रुपमा वहन गर्ने क्षमता पनि सन्चारमाध्यमहरुसंगै हुन्छ । तर, ‘डेमोक्रेसी’को नाममा उपभोक्तावादको मसिहा बनेर त्यो जिम्मेवारी वहन गर्न सकिँदैन । नचाहिँदा कुरा छापेर नाफा कमाउने धन्दा गर्नुभन्दा अखबार बन्द गरेर केहि वृक्षहरु जोगाउनु ठूलो योगदान हुन्छ हाम्रो पृथ्वीलाई ।

अमेरीकी पत्रिका ‘टाइम्स’को एक अंक छाप्न अफ्रिकी जङ्गलका लगभग एक हजार रुख काटिन्छन् भन्ने तथ्यांक त सन्चार माध्यमहरु चलाएर बस्नेहरुलाई त थाहा भएकै होला । त्यसैले सबभन्दा पहिले अब प्रकाशकहरुले अखबार प्रकाशन गर्नुअघि आफैँलाई केही प्रश्नहरु सोध्न जरुरी छ - के हामीले पत्रिका प्रकाशन गर्न यो समाजका लागि आवश्यक छ ? हामीले समाजलाई के त्यस्तो योगदान दिन सक्छौँ जुन अरु अखबारहरुले दिएका छैनन् वा दिन सक्दैनन् ? हाम्रो यो व्यवसायले के हामी सिमितलाई फाइदा पुगिरहेको छ कि सिङ्गो समाजलाई ? हामीले प्रकाशन गरेर कति प्राकृतिक स्रोतहरुको दोहन गरिरहेका छौँ र त्यसको मूल्यमा समाजलाई कति फाइदा पुगेको छ ? हामीले यो कामभन्दा अरु थोक नै गरेको भए धेरै जनतालाई र सिङ्गो पृथ्वीलाई गुन लाउन सकिन्थ्यो की ? हामीले यसमा दिएको समय अरु नै कुरामा लगानी गरेको भए हामीलाई र समाजलाई अझ बढी फाइदा पुग्थ्यो की ?


अब यिनै प्रश्नहरुको आलोकमा हामीले हाम्रो देशको सीङ्गो पत्रकारिता क्षेत्रलाई हेर्न जरुरी छ भन्ने लाग्दछ । र, यो स्तम्भलाई झापामा पढिरहनुभएका पाठकहरुले झापाका पत्रिकाहरुलाई यीनै प्रश्नहरुको उज्यालोमा नियाल्नु भयो भने, झापाको पत्रकारिता कस्तो देखिएला ? अर्थात, के हाम्रो झापामा हामीले छापिरहेका सबै पत्रिका छापिइरहन जरुरी छ ? यी सबै पत्रिकाहरु के मानेमा एकअर्का भन्दा फरक छन् ? र, यी सबै पत्रिकाहरु कति समाजोपयोगी वा जीवनोपयोगी छन् ? अखबारवालाहरुले पनि आफुले छापेको ऐनामा आफैँलाइ हेरेर सार्वजनीक रुपमा यी प्रश्नहरुको इमान्दार जवाफ दिन सक्लान् ? वा, कतिले सक्लान् ? जवाफमा आफुलाई कमजोर पाउनेहरुले कृपया प्रकाशन नगरेर यो सिङ्गो पृथ्वीलाई सहयोग पुर्याइदिए वेश ।

उज्ज्वल प्रसाई

यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:

  1. भित्ती
    आधुनिकताले तँलाइ छोएको छ आफुमात्र सभ्य ठान्छस् रे गाजाभाँङ धतुरो भेटे जती सबै खान्छस् रे ल ब्रो डोज पुगेन हो भन्दै सुइ पनि पो हन्छस् रे भो माइला छाड्दे यसरी के नै पाउँछस् न डम्म अघाउछस् न कुनै दुख भुलाउछस् न कुनै स्वर्गै भेटाछउँस् भोली तैले आँफैसँग हार्नु पर्छ हो...
  2. ‘कविता सिङ्गो सभ्यताको गहना हो’
    प्रयास गरे अवश्य नै सफलता मिल्छ’ भन्ने उक्तिलाई सार्थकता दिइसकेका छन् लोद्राई, गेलेफु भुटानमा स्व. आमा-बुबा गंगा माया र भोलानाथ धिमालको कोखबाट वि.सं. २०३२ सालमा जन्मनु भएका युवा कवि मणिराम धिमाल ‘दिपित’ले । भारतीय शोक-काव्यदेखि हौसला पाएर बाल्यवस्थादेखि नै साहित्य क्षेत्रमा कलम चलाउँदै आउनु भएका ‘दिपित’ले ‘अविरल आँसु’ कविता संग्रह...
  3. सुमित्राले पैसा पाइन् ।
    धेरै दिन वितिसक्दा पनि अरु रकम थपिने छाँटकाँट नदेखिएकोले कमल दाइ र सुमन भाइबाट प्राप्त रु. ८००२।- आज हामीले विना कुनै औपचारिक कार्यक्रम सुमित्रा बहिनीलाई हस्तान्तरण गरिदियौं । हाम्रो योजना उनको घरमै गएर दिने थियो तर उनको एडमिसनमा ढिलो भयो भनेर हतार गरेकोले हामीले उनलाई यहिँ बोलाएर सो रकम...
  4. सुमित्रालाई पढ्न विदेशका नेपालीको सहयोग, सहयोग आउने क्रम जारी
    धिमाल जातिबाट एस एल सी मा प्रथम श्रेणीमा उत्तीर्ण हुने बहिनी सुमित्रा धिमालको उच्च शिक्षा पढ्ने चाहना अपुरो नहोस् । गरिवीका कारण फेरि एक छात्राको पर्ढाई एसएलसीमै पुगेर पूर्णविराम नलागोस् । गरिवका झोपडीबाट पनि देशलाई सेवा गर्ने पौरखी हातहरु उठुन् । उनको नर्स बन्ने सपना पूरा गर्न आर्थिक सहयोग जुटोस्...
  5. मृत्युदण्ड चाहियो
    हाम्रो देश, हाम्रो समाज कता जाँदैछ, यो देश र यो समाजमा बस्ने मानिसहरुको मति किन यति धेरै भ्रष्ट भइरहेको छ, सम्झेर ल्याउँदा पनि दिक्क लाग्न थालिसक्यो । आज पूर्वसन्देशमा छापिएको एउटा समाचार पढेर यो संसारमा यस्ता यस्ता नरपशु पनि जन्मिएका रहेछन् भन्ने थाहा पाउँदा यो मन नै विचलित भइरहेको छ...

फेसबुकमा राख्नुस्

प्रतिकृया दिनुहोस्

प्रतिकृया लेख्दा कृपया सभ्य भाषामा लेख्नु होला । जथाभावी लेखिएका प्रतिकृया प्रकाशित नहुन पनि सक्छन् । अंग्रेजी र नेपालीमा कमेन्ट लेख्दा CTRL + U बाट भाषा परिवर्तन गर्न सकिन्छ ।

© तीतो पिरो मिठो                                                                  Web Site Hit Counters
Entries RSS Comments RSS Log in