मेरो एक पढैया साथी वसन्तले एक वर्ष पूरानो दैनीक अखबार मलाई देखाउन ल्याए । उनले बडो जतनले इलामबाट जोगाउँदै उक्त अखबार काठमाडौँ ल्याइपुर्याए । अखबार साँच्चै पढ्न लायक सामाग्रीहरु छन् । गजबको छ त्यो । त्यसैले त्यो संग्रहित भयो । यहि अखबार कति पढैयाहरुले त्यसरी संग्रह गरेका होलान् ? यसको उत्तरमा जत्रो अंक आए पनि यसले अखबारको महत्व बोल्छ । त्यसको मूल्य स्थापित गर्छ । यो सामान्य कुरा हो । तर, यसैसँग जोडिएर आउँछ एउटा गहिरो प्रश्न । कति अखबार होलान् दुनियामा जसको मूल्य नै छैन ? जो कसैले नपढ्दा दुनियाँलाई केही घाटा हुँदैन - र, पढ्दा पनि फाइदा भन्दा घाटा नै ज्यादा हुन्छ ।
वसन्त र मैले त्यही संग्रहित अखबारका अहिले निक्लिरहेका अंकहरुका बारे छलफल गर्यौँ । तिनको अहिले कुनै ओज छैन । त्यसै पत्रिकाका हालका अंकहरु स्तरहीन छन् । आजकल ऊ ब्रीट्नी स्पियर्सको चुम्बन प्रथम पृष्ठमा छाप्छ । कोही बलात्कृत भएको थाहा पायो भने ऊ त्यसको ‘स्कूप’ मार्न लालायीत हुन्छ । ऊ बलात्कारको डरलाग्दो विभिषिकालाई ‘सेन्सीटाइज’ गरेर उत्ताउलो बनाउने ध्याउन्नमा लागेको छ । आफुले छोटो समयमा कमाएको लोकप्रियतालाई त्यस पत्रिकाले अहिलेसम्म ‘क्यास’ गरिरहेको छ । ऊ आफुलाई ‘डेमोक्रेसी’को मसिहा भन्छ, राज्यको चौथो अंग भनेर उत्तेजना बेचेर पैसा बटुलिरहेको छ । जसरी एउटा भारतिय नाफामुखी कम्पनीले मेन्थलमा गुलियो मिसाएर ‘मेन्टस’ बनाउँछ र बारम्बार भन्छ- यो खानुस र दिमागमा बत्ती जलाउनुस् । अर्थात, अब त्यो अखबार पाठकका हातमा पुगिरहनु भनेको पाठकलाई सबैतिरबाट घाटा मात्र हुनु हो । तर, त्यो अखबार ती पाठकका हातमा पुगेन भने पाठकले केही गुमाउने छैनन् । यो कुरालाई सोझो भाषामा यसरी भनौँ- ‘त्यो अखबारको कुनै महत्व छैन र छापिइरहन जरुरी पनि छैन ।’ त्यो अखबारसंग सम्बद्धहरुलाई यति मात्र भन्न सकिन्छ- ‘तपाईहरुले गरि खाने अरु नै बाटो रोज्नु राम्रो ।’
यति भनिसकेपछि अब एकछिन सोचौँ न कमसल पत्रिकाहरुको प्रकाशनले हामीलाई के घाटा हुन्छ ? त्यसका लागि म तपाईँलाई भर्खरै विदेशबाट आएको एउटा इ-मेलको प्रसङ्ग सुनाउँछु । विदेशबाट अर्को एक पढन्ते साथीले मलाई महत्वपूर्ण विषयमा लामो इ-मेल पठाएको रहेछ । र, इ-मेलको अन्तमा लेखिएको एउटा लाइनले मेरो ध्यान खिँच्यो । त्यहाँ लेखिएको छ - ‘के तपाईँले यो मेल छाप्न लाग्नु भएको हो ? यदि हो भने क्रिपया छाप्नु अघि दश पटक सोच्नुहोला ।’ मैले त्यति पढेपछि त्यसलाई छापेर फाइलमा कोच्नुभन्दा कम्प्युटरमा राख्नु उचित ठानेँ । त्यसलाई छाप्दा लगभग पाँच वटा ए फोर साइजका कागज र अलिकति मसी खर्च हुन्थ्यो । ती कागजहरु त्यतिकै आउँदैनन्, मसी पनि आकाशबाट यसै बर्षिँदैन । तीनलाई त बनाउनु पर्छ । कागज बनाउने ठूल्ठूला उद्योगहरु खुलेका छन् । ती उद्योगलाई कागज बनाउने कच्चा पदार्थहरु चाहिन्छन् । र, हामीलाई थाहा भएकै कुरा हो- कागज वनस्पतिबाट बनेको चीज हो । कागजको कच्चा पदार्थ भनेकै हरिया वृक्षहरु हुन् । ती वृक्षहरु नष्ट नगरि कागज बन्दैन । त्यसैले कागजको दुरुपयोग भनेको हाम्रो प्राकृतिक स्रोतको दुरुपयोग हो । ब्रीट्नी स्पीयर्सका ओँठ र तीघ्रा छाप्न दुनियालाई रुखविहिन बनाउनु कस्तो ‘डेमोक्रेसी’ हो ?
भारतीय लेखिका अरुन्धती रोयले उनको भर्खरै प्रकाशित पुस्तक ‘लिसनीङ्ग टु ग्रासहोर्प्पर्सः फिल्ड नोट्स अन डेमोक्रेसी’मा त्यसै यस्तो खतरनाक प्रश्न सोधेकी होइनन्- ‘के डेमोक्रेसीपछि जीवन छ ?’ यो प्रश्न ‘के मृत्युपछि जीवन छ ?’ भन्ने दार्शनीक प्रश्नकै नमुनामा सोधिएको हो । ‘मृत्यु’को ठाउँमा ‘प्रजातन्त्र’ (डेमोक्रेसी) शब्द राखिएको छ । अर्थात्, अहिलेको दुनीयाँले अभ्यास गरिरहेको ‘प्रजातन्त्र’ नै कतै दुनियाँको अन्त्य निम्त्याउने ‘मृत्यु’ त होइन भन्ने सन्देह यहाँ प्रकट गरिएको छ । यसै प्रसङ्गमा उनी लेख्छिन् - ‘जङ्गल, नदीदाला र हिमाल सबै सकिनै लागेका छन्, यहाँका बडे बडे ‘कर्पोरट्स’ले राजनीतिको आडमा यी सबै स्रोतहरुको भरपूर उपयोग गरे ।……… र यो अहिलेको डेमोक्रेसीले सम्भव गराएको हो । एउटा राजनीतिक नेतालाई भोट ब्यांक चाहिन्छ, जस्तो कर्पोरेसनलाई बजार । दुवैलाई मिडियाको सहयोग आवश्यक पर्छ । कर्पोरेसनले त्यो सहयोग किन्छ र राजनीतिले त्यो कमाउँछ ।’ यसरी रोयले राजनीति, सन्चार र कर्पोरेशनको सम्बन्ध र त्यसले हाम्रा प्राकृतिक स्रोतमा पारेको असरबारे लेखेकी छन् ।
अहिले रुखपात, नदिनाला, पहाड र हिमालहरु जोगाउने बेला आएको छ । यसमा सन्चार माध्यमले ठूलो भूमिका खेल्न सक्छन् । वातावरणिय समस्याबाट दुनियाँलाई जोगाउन जनचेतना सबभन्दा बलियो माध्यम हुन्छ । र, यो ठूलो जिम्मेवारी प्रभावकारी रुपमा वहन गर्ने क्षमता पनि सन्चारमाध्यमहरुसंगै हुन्छ । तर, ‘डेमोक्रेसी’को नाममा उपभोक्तावादको मसिहा बनेर त्यो जिम्मेवारी वहन गर्न सकिँदैन । नचाहिँदा कुरा छापेर नाफा कमाउने धन्दा गर्नुभन्दा अखबार बन्द गरेर केहि वृक्षहरु जोगाउनु ठूलो योगदान हुन्छ हाम्रो पृथ्वीलाई ।
अमेरीकी पत्रिका ‘टाइम्स’को एक अंक छाप्न अफ्रिकी जङ्गलका लगभग एक हजार रुख काटिन्छन् भन्ने तथ्यांक त सन्चार माध्यमहरु चलाएर बस्नेहरुलाई त थाहा भएकै होला । त्यसैले सबभन्दा पहिले अब प्रकाशकहरुले अखबार प्रकाशन गर्नुअघि आफैँलाई केही प्रश्नहरु सोध्न जरुरी छ - के हामीले पत्रिका प्रकाशन गर्न यो समाजका लागि आवश्यक छ ? हामीले समाजलाई के त्यस्तो योगदान दिन सक्छौँ जुन अरु अखबारहरुले दिएका छैनन् वा दिन सक्दैनन् ? हाम्रो यो व्यवसायले के हामी सिमितलाई फाइदा पुगिरहेको छ कि सिङ्गो समाजलाई ? हामीले प्रकाशन गरेर कति प्राकृतिक स्रोतहरुको दोहन गरिरहेका छौँ र त्यसको मूल्यमा समाजलाई कति फाइदा पुगेको छ ? हामीले यो कामभन्दा अरु थोक नै गरेको भए धेरै जनतालाई र सिङ्गो पृथ्वीलाई गुन लाउन सकिन्थ्यो की ? हामीले यसमा दिएको समय अरु नै कुरामा लगानी गरेको भए हामीलाई र समाजलाई अझ बढी फाइदा पुग्थ्यो की ?
अब यिनै प्रश्नहरुको आलोकमा हामीले हाम्रो देशको सीङ्गो पत्रकारिता क्षेत्रलाई हेर्न जरुरी छ भन्ने लाग्दछ । र, यो स्तम्भलाई झापामा पढिरहनुभएका पाठकहरुले झापाका पत्रिकाहरुलाई यीनै प्रश्नहरुको उज्यालोमा नियाल्नु भयो भने, झापाको पत्रकारिता कस्तो देखिएला ? अर्थात, के हाम्रो झापामा हामीले छापिरहेका सबै पत्रिका छापिइरहन जरुरी छ ? यी सबै पत्रिकाहरु के मानेमा एकअर्का भन्दा फरक छन् ? र, यी सबै पत्रिकाहरु कति समाजोपयोगी वा जीवनोपयोगी छन् ? अखबारवालाहरुले पनि आफुले छापेको ऐनामा आफैँलाइ हेरेर सार्वजनीक रुपमा यी प्रश्नहरुको इमान्दार जवाफ दिन सक्लान् ? वा, कतिले सक्लान् ? जवाफमा आफुलाई कमजोर पाउनेहरुले कृपया प्रकाशन नगरेर यो सिङ्गो पृथ्वीलाई सहयोग पुर्याइदिए वेश ।
उज्ज्वल प्रसाई
यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:
- भित्ती
आधुनिकताले तँलाइ छोएको छ आफुमात्र सभ्य ठान्छस् रे गाजाभाँङ धतुरो भेटे जती सबै खान्छस् रे ल ब्रो डोज पुगेन हो भन्दै सुइ पनि पो हन्छस् रे भो माइला छाड्दे यसरी के नै पाउँछस् न डम्म अघाउछस् न कुनै दुख भुलाउछस् न कुनै स्वर्गै भेटाछउँस् भोली तैले आँफैसँग हार्नु पर्छ हो... - ‘कविता सिङ्गो सभ्यताको गहना हो’
प्रयास गरे अवश्य नै सफलता मिल्छ’ भन्ने उक्तिलाई सार्थकता दिइसकेका छन् लोद्राई, गेलेफु भुटानमा स्व. आमा-बुबा गंगा माया र भोलानाथ धिमालको कोखबाट वि.सं. २०३२ सालमा जन्मनु भएका युवा कवि मणिराम धिमाल ‘दिपित’ले । भारतीय शोक-काव्यदेखि हौसला पाएर बाल्यवस्थादेखि नै साहित्य क्षेत्रमा कलम चलाउँदै आउनु भएका ‘दिपित’ले ‘अविरल आँसु’ कविता संग्रह... - सुमित्राले पैसा पाइन् ।
धेरै दिन वितिसक्दा पनि अरु रकम थपिने छाँटकाँट नदेखिएकोले कमल दाइ र सुमन भाइबाट प्राप्त रु. ८००२।- आज हामीले विना कुनै औपचारिक कार्यक्रम सुमित्रा बहिनीलाई हस्तान्तरण गरिदियौं । हाम्रो योजना उनको घरमै गएर दिने थियो तर उनको एडमिसनमा ढिलो भयो भनेर हतार गरेकोले हामीले उनलाई यहिँ बोलाएर सो रकम... - सुमित्रालाई पढ्न विदेशका नेपालीको सहयोग, सहयोग आउने क्रम जारी
धिमाल जातिबाट एस एल सी मा प्रथम श्रेणीमा उत्तीर्ण हुने बहिनी सुमित्रा धिमालको उच्च शिक्षा पढ्ने चाहना अपुरो नहोस् । गरिवीका कारण फेरि एक छात्राको पर्ढाई एसएलसीमै पुगेर पूर्णविराम नलागोस् । गरिवका झोपडीबाट पनि देशलाई सेवा गर्ने पौरखी हातहरु उठुन् । उनको नर्स बन्ने सपना पूरा गर्न आर्थिक सहयोग जुटोस्... - मृत्युदण्ड चाहियो
हाम्रो देश, हाम्रो समाज कता जाँदैछ, यो देश र यो समाजमा बस्ने मानिसहरुको मति किन यति धेरै भ्रष्ट भइरहेको छ, सम्झेर ल्याउँदा पनि दिक्क लाग्न थालिसक्यो । आज पूर्वसन्देशमा छापिएको एउटा समाचार पढेर यो संसारमा यस्ता यस्ता नरपशु पनि जन्मिएका रहेछन् भन्ने थाहा पाउँदा यो मन नै विचलित भइरहेको छ...