१
एकीकृत नेकपा माओवादी कोचिला राज्य समितिले झापाका क्षेत्र नम्बर ७ का सभासद विश्वदीप लिङदेन (सुरेश)लाई पार्टीबाट निष्काशन गरेको छ ।
आर्थिक अनियमितताको आरोप लगाउँदै माओवादीले सभासद लिङदेनलाई निष्काशन गरेको हो । लिङदेन एमाले नेता केपी ओलीलाई हराएर संविधानसभामा निर्वाचित भएका हुन् । झापा दमकका हरिभक्त पराजुलीसँग मिलेर स्थानीय रामप्रसाद न्यौपाने र रतनराज उदासको घरजग्गा आफ्नो हातमा पारेपछि लिङ्देनलाई निष्काशन गर्नु परेको माओवादी स्रोतले जनाएको छ । पीडित न्यौपाने र उदासले माओवादीमा हालेको उजुरीपछि छानविन सुरु भएको थियो । छानविनमा हस्तक्षेप गर्दै सभासद लिङदेनले पराजुलीलाई धम्क्याएका थिए ।
सो धम्कीपछि पराजुलीले न्यौपानेको लगभग ७० लाख मूल्यको घडेरी सभासद लिङदेनकी श्रीमतीको नाममा पास गरिदिएका थिए ।
पराजुलीसँग मिलेर उदास र न्यौपानेको सम्पत्ति हिनामिना गरेको थाहा पाएपछि माओवादी कोचिला राज्य समितिले गत कार्तिकमा १५ दिनभित्र घरजग्गा फिर्ता गर्न सभासद लिङदेनलाई निर्देशन दिएको थियो । तर, तीन महिनासम्म पनि नफर्काएपछि उनलाई माओवादीले कार्वाही गरेको हो ।
सबै सम्पत्ति पराजुली र सभासदले हडपेपछि पीडित बनेका न्यौपाने विर्तामोडस्थित कृषिथोक बजारमा मजदूरी गरेर गुजारा चलाउँदै आएका छन् ।
२ मगंलवार झापाको दमकमा भएको अञ्चल स्तरिय कविता प्रतियोगितामा झापाकी सावित्रा ढुङ्गाना प्रथम हुनु भएको छ । १६ जना प्रतियोगीलाई उछिन्दै ढुङ्गानाको वन्दकी याम शिर्षकको कविता उत्कृष्ट भएको हो । त्यस्तै दोश्रो इलामका एकु घिमिरेको भविष्यवाणी र झापाकै लिला अनमोलको निलो तृष्णा नाम कविताले तेस्रो स्थान हासिल गरेका थिए । उत्कृष्ट हुने कविहरुलाई क्रमश पाँच, तीन र दुइ हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतियोगितामा विजयी कविहरुलाई वरिष्ट कवि तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णभुषण वलले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । प्रभु फाइनान्स कम्पनिको दमक शाखाले आयोजना गरेको कार्यक्रममा नेपालका प्रसिद्ध साहित्यकारहरु कृष्ण वराल, मनु मञ्जिल, शिव रेग्मी प्रणव, प्रकास आङदेम्वे, डम्वर घिमिरे, भुपेन्द्र तिम्सीना लगायतका साहित्यकारहरुको उपस्थिति रहेको थियो । उक्त प्रातियोगीतामा प्रथम र द्वितिय हुने कविले आगामी फागुन ४ गते काठमाण्डौमा हुने राष्ट्रिय कविता प्रतियोगितामा भाग लिन पाउने व्यवस्था मिलाइएको कुरा कार्यक्रमकी संयोजक मायामितु न्यौपानेले जानकारी गराउनु भएको छ । कार्यक्रमको संयोजन दमक जेसीसले गरेको थियो । ३ नेपाली राजनीतिक इतिहासमा कालो दिनको रुपमा चिनिने माघ १९ लाई पखाल्ने उद्देश्यले मगंलवार झापाको दमकमा दमक जेसीसले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । २०६१ साल माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्रले देशको शासन सत्ता हातमा लिएका थिए । यसरी जवरजस्ती खोसिएको जनताको अधिकार फिर्ता लिन राजतन्त्र विरुद्ध लड्दा धेरै नेपालीको रगत वगेको स्मरण स्वरुप आज दिनलाई कालो दिनको रुपमा मनाएको हो । वगेको रगत अभावलाई थोरै भएपनि पूर्ति गर्ने साँकेतिक उद्देश्यले स्वरुप रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक जेसी सुवास भट्टराईले जानकारी गराउनु भएको छ । कार्यक्रममा ३ महिला सहित २३ जनाले रक्तदान गर्नु भएको थियो । यसरी संकलित रगत दमकस्थित रेडक्रस उपशाखाको व्लड वैंकमा प्रदान गरिएको छ । सो वैंकमा रगत अभाव भएपछि माघ १९ को अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो ।
४
नेपाल आदिवासी जनजाति महासंघ लखनपुर गाउँ समन्वय परिषद् झापाले सोमबारदेखि तीन महिने सिलाइ तथा कटाइ तालिम सुरु गरेको छ ।
जिल्ला विकास समिति झापाको आर्थिक वर्ष २०६५/६६ को वजेटवाट महासंघलाई प्राप्त वीसहजार रुपैयाँ वजेटले दुइवटा सिलाइ मेसिन खरिद गरी तालिम प्रारम्भ गरेको आयोजक संस्थाका अध्यक्ष जय मोक्तान तामाङले बताए ।
नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ झापाका सचिव कमन देवानले उद्घाटन गरेको उक्त तालिममा सिमान्तकृत माझी, सन्थाल, झाँगड, ताजपुरिया लगायत विभिन्न १२ जातिका महिलाहरु सहभागी छन् ।
संस्थागत आर्थिक क्षमता न्यून रहेको तर तालिमलाई केही वर्ष निरन्तरता दिने आवश्यकता रहेको महासंघका सचिव नगेन्द्रबहादुर आङदेम्बेले बताए । कार्यक्रममा आदिवासीहरुको मौलिक र परम्परागत पेशालाई राज्यले वेवास्ता गरेको तथा आदिवासी जनजातिहरुको आर्थिक स्थिति सुधारका लागि ठोस कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिइएको थियो ।
तालिम संयोजक शिवा धिमालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
५
झापाको दमक १६ स्थित संस्कृत विद्यालय सञ्चालनका लागि गौरादहका सूर्यप्रसाद भट्टराईले एक लाख १५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नु भएको छ ।
संस्कृत भाषाका विद्यालय अन्यत्र बन्द भईरहेको अवस्थामा भाषा संरक्षणका लागि पनि सहयोग गरेको उहाँले बताउनु भयो ।
वशिष्ठ संस्कृत विद्यापिठ संचालनका लागि २५ लाख रुपैयाँको अक्षय कोष समेत खडा गरिने बताइएको छ । समाजसेवी शेरबहादुर भट्टराईको संयोजकत्वमा गठित समितिले त्यहाँ फागुन पहिलो साताबाट पुराण समेत लगाउने भएको छ ।
६
संघिय लिम्बुवान राज्य परिषदले पाँचथर अनिश्चितकालका लागि यातायात बन्द गराएको छ ।
परिषदको बन्दले विहानदेखि पाँचथरमा कुनै पनि सवारी साधन चलेका छैनन् ।
पक्राउ परेका कार्यक्रता दिपक खनालको रिहाइको माग गर्दै परिषदले यातायात बन्द गराएको हो । गएको माघ १७ गते चन्दा उठाउदै गर्दा पक्राउ परेका खनाललाई प्रहरीले मुद्दा चलाएपछि रिहाइको माग गर्दै लिम्बुवानले बन्द गराएको हो ।
७
संविधान सभाअन्तर्गत राज्यको पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले ऐतिहासिक लिम्बुवानको सिमानालाई अतिक्रमण गरेर संविधान सभामा प्रस्ताव गरेको भन्दै संयुक्त लिम्बुवान मोर्चा, नेपालले माघ १७ गते संविधान सभा अगाडि “संविधान सभामा प्रस्तावित लिम्बुवान राज्यको सिमाङ्कन अरुण-सप्तकोशीपूर्वको सम्पूर्ण भूभागलाई कायम गर” लेखिएको व्यानरसहित धर्ना र लिम्बुवानमा चक्काजाम गर्दै सभाध्यक्ष सुवास नेम्बाङसमक्ष मोर्चाका प्रतिनिधि नेतृत्वहरुमार्फत एक ध्यानाकर्षण पत्र बुझाइएको छ ।
उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ-
“नेपाली जनताको त्याग र वलिदानको मर्म र जनादेश अनुरुप मुलुक संघीयतामा प्रवेश गर्यो । संविधान सभाको राज्य पुनर्संरचना समितिद्वारा प्रस्तावित १४ राज्यमध्ये एक लिम्बुवान राज्य पनि प्रस्तावमा समाविष्ट छ । संयुक्त लिम्बुवान मोर्चा, नेपाल यसै राज्यको प्राप्तिको लागि विगत लामो समयदेखि आन्दोलित छ । लिमबुवान कसैले मनगढन्ते उब्जाएको विषय नभएर यो इतिहासदेखिको विरासत हो तथा कानुनीरुपमा नै जायज माग हो । तर, लिम्बुवान प्रस्ताव गर्ने नाममा तमाम लिम्बुवानवासीलाई भ्रममा पार्ने गरी प्रस्ताव गरिएको लिम्बुवान राज्यको सिमाङ्कनले हामीलाई चकित र आक्रोशित तुल्याएको छ । पटक-पटक संविधान सभा, राज्यका सम्बन्धित निकायहरु र जिम्मेवार दलहरुलाई बुझाइएको ज्ञापन पत्रहरुलाईसमेत नजरन्दाज गरी समग्र लिम्बुवानवासीको भावनामाथि नै ठेस पुग्ने गरी गरिएको लिम्बुवान राज्यको सिमाङ्कन प्रस्ताव त्रूटीपूर्ण रहेको छ । यसले ऐतिहासिक भूमि टुक्र्याउने र लिम्बुवानवासीको मागको सम्बोधन नगरी उनीहरुको स्वाभिमानमाथि नै धावा बोलेको छ ।
नामको रुपमा प्रस्तावित लिम्बुवान राज्य सकारात्मक भए पनि शदीयौंदेखि शोषित र उत्पीडित जातिहरुको आवाजलाई सम्बोधन नगर्ने गरी आएको लिम्बुवानको सिमाङ्कन संयुक्त लिम्बुवान मोर्चा, नेपाललाई अमान्य छ । यसले लिम्बुवानलाई अपाङ्ग बनाएको छ । प्रस्तावित सिमाङ्कनले लिम्बुवानलाई स्थायित्व दिने, राज्य चल्ने र लिम्बुवानवासीलाई स्वायत्तता दिने प्रस्ताव नभएर लिम्बुवानलाई दास असफल र फेरि पुरानै यथास्थितिमा मुलुकलाई फर्काउने गरी गरिएको हाम्रो ठहर छ । यो प्रस्तावले मुलुकलाई शान्ति र अग्रगतितिर लाने होइन कि अझ डरलाग्दो अशान्ति र भडखालोतिर जाकिने निश्चितप्राय छ ।
लिम्बुवानको ऐतिहासिक एवम अभिन्न अङ्गको रुपमा रहेका स्थलहरुसमेत छुट्ने गरी र सङ्खुवा-अरुण-सप्तकोशीपूर्वको भूभागहरु लिम्बुवान हो भन्ने जान्दाजान्दै विभिन्न नाममा अतिक्रमण गरिएका लिम्बुवानका भूभागहरु तत्काल साविक लिम्बुवान राज्यभित्र नै पर्नेगरी अर्को सिमाङ्कन गरेर लिम्बुवानवासीको माग सम्बोधन गर्न जोडदार माग गर्दछौं ।”
सोही दिन त्यही बेला ध्यानकर्षणकै लागि आनदोलनस्वरुप संयुक्त लिम्बुवान मोर्चा नेपालमा आवद्ध संगठन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदलगायतले लिम्बुवानमा पर्ने पूर्व पश्चिम लोकमार्गअन्तर्गत इटहरी सुनसरी र दमक झापालगायतका ठाउँमा २ घण्टा चक्काजामसमेत गरेको थियो ।
संयुक्त लिम्बुवान मोर्चा नेपालमा आवद्ध राजनीतिक दल र संगठनहरु लिम्बुवान मुक्ति मोर्चा (वीर नेम्बाङ), लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा (एनेकपा माओवादी), संघीय लिम्बुवान राज्य परिषद (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ (नेकपा एमाले), नेपाल लिम्बुवान स्वशासित संघ ए. (नेकपा एकीकृत), लिम्बुवान प्रान्तीय परिषद (राष्ट्रिय जनुमक्ति पार्टी), नेपाल लिम्बू संघ (नेपाली कांग्रेस), संघीय लिम्बुवान राज्य परिषद र किरात याक्थुङ चुम्लुङ रहेका छन् ।
८
किरात जनवादी वर्कर्स पार्टीले आफूले कारबाही गरिसकेका व्यक्तिहरुसँग सरकारले वार्ता गरेकोप्रति आपत्ति जनाएको छ ।
विज्ञप्ति जारी गरी वर्कर्सका केन्द्रीय सहसचिव हाङ्छा किरातले आपत्ति जनाउनु भएको हो ।
उहाँले कारबाहीमा परेका व्यक्तिसँग वार्ता गरेर सरकारले अपराधमा संलग्नहरुको संरक्षण गरेको आरोप लगाउनु भयो । विज्ञप्तिमा नवीन किराती, सुमन बान्तवा, रविन राई, केवल राई, ओम मिश्र, गोपाल नागा र पम्फा किरातीलाई कारबाही गरेर पार्टीबाट निकालिएको जनाइएको छ ।
वर्कर्सले कारबाही गरेका मिश्र र नागा चार दिनअघि झापाबाट पक्राउ परिसकेका छन् । विर्तामोडका व्यवसायी दिनेश मित्तल र उहाको परिवारलाई लक्षित गरी गोली प्रहार गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
वर्कर्सले यसअघि माओवादी नेतृत्वको सरकारका पालामा एक चरण वार्ता भइसकेको र दोस्रो चरणको वार्ताका लागि वातावरण बनाए आफूहरु तयार रहेको पनि जनाएको छ ।
माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गरी समस्याको समाधान खोज्नुपर्नेमा वर्कर्सले जोड दिएको छ ।
९
झापाका उद्यमी व्यवसायीले जिल्ला सुरक्षा समितिको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
आज झापाका प्रमुख जिल्ला अधिकारीलाई भेटेर उनीहरुले सुरक्षा समितिलाई प्रभावकारी बनाउन माग गरेका हुन् ।
झापा उद्योग वाणिज्य सङ्घ विर्तामोड शाखाको अगुवाईमा गएका व्यवसायीले सङ्क्रमणकालको बहाना बनाएर राज्य संयन्त्र पन्छिन नमिल्ने जनाउँदै दण्डहीनताको अन्त्यका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका थिए । ‘बढ्दो व्यावसायिक असुरक्षाप्रति प्रशासनको ध्यानाकर्षण गरायौँ’, सङ्घका अध्यक्ष राजेन्द्र थापाले भन्नुभयो, ‘बजारमा बढिरहेको असुली नियन्त्रण नभए व्यवसायी पेशाबाटै पलायन हुनुपर्ने स्थिति छ ।’
उहाले चार दिनअघि विर्तामोडका व्यवसायी दिनेश मित्तल र उनको परिवारलाई लक्षित गरी गोली प्रहार गरिएको घटनाले व्यावसायिक सुरक्षाको अभाव खड्किएको बताउनु भयो ।
१०
ताप्लेजुङ जिल्लाको एक दर्जन भन्दा बढीगाउँ विकास समितिमा शिकार खेल्ने क्रम बढेपछि यहाँका जंगली जनावरहरुको अस्तिव संकटमा पर्न थालेको छ ।
माओवादी युद्धका कारण रोकिएको शिकार खेल्ने चलन अहिले बढेपछि जंगली जनावरहरुको अस्तित्व संकटमा रहेको हो ।
कस्तुरी मृग, घोरल, थार, भालु, कालिज लगायतका जंगली जनावरका शिकार पापुङ, नाल्बु, थुकिमा, साँवा, लिवाङ, खोकिलिङ्ग, सावादिन खेजेनिम, कालीखोला, सादेवा, आङखोप, मेहेले, ढुङ्गेसाघु र सुरुम्खिम लगायतका गाविसमा बढेको स्थानीय बासिन्दाहरु बताउँछन् ।
शिकारीहरु जंगलमै चार पाँच दिनसम्म बसेर शिकार गर्छन् र एउटै समूहले पाँचवटा सम्म जनावर मार्ने गरेको सादेवा ५ का यामबहादुर चौहान बताउँछन् ।
गाउँ गाउँमा पुगेको प्रहरीले शिकारीहरुलाई रोक्न कुनै प्रयास नगरकोले जंगली जनावहरु मार्ने क्रमबाट ताप्लेजुङमा जनावरहरु मासिदै जार्दैछन् ।
कुमार/टिकाराम/कमन देवान/डीबी आङबुङ
यस लेखसँग मिल्दाजुल्दा अरु लेख्हरु:
- सेरोफेरो
१ लाङटाङ र मुस्ताङको विभिन्न भेगमा चार हजार मिटर उचाईमा छायांकन गरिएको नेपाली चलचित्र यतिको खोजीको शनिवार दमकमा प्रेस प्रदर्शन गरिएको छ । उक्त चलचित्र स्थानिय पाथिभरा चलचित्र घरमा एक कार्यक्रमबीच संचारकर्मी समेतको उपस्थितीमा प्रदर्शन आरम्भ गरिएको थियो । त्यस अवसरमा चलचित्रका निर्माता लक्ष्मण बस्नेतले पृथक र यतिको मिथमा आधारित... - सेरोफेरो
१ संयुक्त लिम्बुवान मोर्चा, नेपालको विशेष बैठक लिम्बुवानको विर्तामोडस्थित् किरात याक्थुङ चुम्लुङहिम् चारपाने झापामा बसेको छ । मोर्चाको कार्यदलसहित शीर्षस्थ नेतृत्वहरु समेतको उपस्थितिमा भएको यस बैठकले मोर्चामा आवद्ध नरहेको संघीय लिम्बुवान राज्य परिषद् (पालुङ्वा समूह) संगको छलफल र मोर्चामा आवद्ध हुने बारे, मोर्चाको आजसम्मको गतिविधिहरूको समीक्षा, लिम्बुवानको साँध-सिमाना र मोर्चाको... - सेरोफेरो
१ ठूला राजनैतिक दलहरुले समेत जातीय राज्य स्वीकार गरिसकेको बेला नेकपा मालेमा महासचिव सिपी मैनालीले भने जातिको आधारमा संघीय राज्यको निर्माण हुन नसक्ने बताउनु भएको छ । आईतबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै महासचिव मैनालीले नेपालमा कुनै पनि जातिको आधारमा बहुमत नभएकोले जातिको आधारमा संघीय राज्य निर्माण गरिनु उपयुक्त... - सेरोफेरो
१ झापाको दक्षिणी भेगका उपोक्ताले नेपाल विद्युत प्राधिकरणलाई घुम्ती काउण्टर राख्न आग्रह गरेका छन् । गाउँबाट महशुल बुझाउन लामो यात्रा तय सहरसम्म आउँदा अनावश्यक झण्झट हुने गरेको भन्दै पश्चिम दक्षिणी झापाका उपभोक्ताले यस्तो आग्रह गरेका हुन् । विशेष गरि पाँचगाछी, कोरोवारी, कोहवरा, बैगुन्धुरा लगायत गाविसका उपभोक्ता समस्यामा परेका हुन् ।... - सेरोफेरो
१ स्ववियू निर्वाचन समानुपातिक निर्वाचन प्रणालीका आधारमा हुनु पर्नै माग राख्दै आएको संघीय विद्यार्थी युनियनले आइतबार थप २ क्याम्पसमा तालाबन्दी गरेको छ । एमाले अखिलको चुनावी सभालाई विथौल्दै कम्ब्याट ड्रेसमा गएका लिम्बुवान भोलेन्यिर्टससहित युनियनका विद्याथीहरुले आइतबार मोरङको पथरी बहुमुखी क्याम्पस प्रवेश गरी तालाबन्दी गरेका हुन् । युनियनले आइतबारै मोरङकै उर्लाबारीस्थित...